त्रिशूलीमा खसेको ट्यांकर फेला, चालक मृत भेटिए


काठमाण्डौ माघ ६ - नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चन्डिभञ्ज्याङ गाविस–५ कालिखोलाबाट मंगलबार राति त्रिशूलीमा खसेर बेपत्ता भएको ट्यांकर बुधबार बिहान ११ बजेतिर फेलापरेको छ ।

ट्यांकरभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेलापरेका छन् ।

काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना४ख ४१४३ नम्बरको ट्यांकर राति १२ बजेतिर त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत भेटिएका चालक बारा जिल्ला अमलेखगन्ज निवासी २६ वर्षीय उमेश तामाङ भएको थाहा भएकोे छ ।

घटनास्थलबाट करिब एक किलोमिटर पश्चिमतर्फ नदीको बीच भागमा ट्यांकर फेलापरेको हो ।

प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार स्टेरिङ्मा च्यापिएको अवस्थामा चालक भेटिएका हुन् ।

पानीले ट्यांकरको पछाडिको भागमाथि उठाएकाले फेलापार्न सहज भएको र ट्यांकरलाई किनारामा तानेर हेर्दा चालक मृत भेटिएको उनले बताए ।

ट्यांकरका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाँच्न सफल भएका छन् । दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ ।

उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसलाई उछिन्नेक्रममा ट्यांकर त्रिशूलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै ट्यांकर र चालकको खोजीकार्य जारी राखेका थिए ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment